२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • ११ महिनामा आयात १५ प्रतिशतले बढ्यो,...

११ महिनामा आयात १५ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा आयात १५ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

सहर्ष न्युज
सोमवार, आषाढ ८ २०८३
सहर्ष न्युज
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ११ महिनामा नेपालको आयात, निर्यात तथा कुल वैदेशिक व्यापारमा वृद्धि भएको छ। तर, आयातको तुलनामा निर्यात कम रहेकाले व्यापार घाटा पनि उल्लेख्य रूपमा बढेको छ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि जेठसम्मको अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रुपैयाँबराबरको वस्तु आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँबराबरको वस्तु आयात भएको थियो।

    यस्तै, चालु आवको ११ महिनामा निर्यात पनि १२.२८ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिमा नेपालबाट २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो।

    आयात र निर्यात दुवै बढेसँगै कुल वैदेशिक व्यापार पनि विस्तार भएको छ। विभागका अनुसार चालु आवको ११ महिनामा कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेर २१ खर्ब ७२ अर्ब ६ करोड ६१ लाख ३३ हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँ रहेको थियो।

    यद्यपि, आयातको वृद्धि दर निर्यातको तुलनामा उच्च रहँदा व्यापार घाटा थप चुलिएको छ। चालु आवको ११ महिनामा व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख १० हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार रुपैयाँ रहेको थियो।

    तथ्यांकले नेपालको वैदेशिक व्यापारमा सुधार देखिए पनि आयातमा अत्यधिक निर्भरता कायम रहँदा व्यापार घाटा अझै चुनौतीपूर्ण अवस्थामा रहेको संकेत गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend