काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य पुनः अघि बढ्ने भएको छ। सरकारले आयोजनाको बाँकी निर्माण सम्पन्न गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागले सोमबार आयोजनाका बाँकी कामका लागि बोलपत्र आह्वान गरेको हो। सूचनाअनुसार इच्छुक अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरूले नेपाली निर्माण कम्पनीसँग संयुक्त उपक्रम (जेभी) बनाएर प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्।
बोलपत्रमा सहभागी हुन चाहने कम्पनीको पछिल्लो १० वर्षभित्रका उत्कृष्ट तीन वर्षको न्यूनतम औसत वार्षिक निर्माण कारोबार ४२.१८१ मिलियन अमेरिकी डलर हुनुपर्ने योग्यता तोकिएको छ।
सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसकेको भए पनि बाँध, विद्युत्गृह तथा अन्य संरचनाको निर्माण कार्य अझै बाँकी छ। यसअघि निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले अपेक्षाअनुसार काम गर्न नसकेपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको थियो।
निर्माणको जिम्मा पाएको पटेल–रमण जेभी, जनकपुर–९, धनुषासँगको ठेक्का सम्झौता २०८२ कात्तिक २५ गते तोडिएको थियो। उक्त कम्पनीले तीन वर्षको अवधिमा करिब १० प्रतिशत मात्रै काम सम्पन्न गरेको थियो।
ठेक्का रद्द भएको करिब सात महिनापछि सरकारले पुनः निर्माण प्रक्रिया अगाडि बढाउन नयाँ बोलपत्र आह्वान गरेको हो।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस आयोजनालाई उच्च प्राथमिकतामा राख्दै चार वर्षभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ। आयोजना सम्पन्न भएपछि मधेश प्रदेशका पाँच जिल्लाका करिब एक लाख २२ हजार हेक्टर कृषि योग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।
