भारदह (सप्तरी) । सडक डिभिजन कार्यालय, लहानले सप्तरीका तीन महत्वपूर्ण सडक निर्माणको ठेक्का रद्द गरेको छ। राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी तथा राजविराज–हनुमाननगर–भारदह सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसँगको सम्झौता अन्त्य गरिएको हो।
भौतिक पूर्वाधार मन्त्रालयले सूचना जारी गर्दै ठेकेदार कम्पनीले सम्झौताअनुसार समयमा काम नगरेको, पटक–पटक ताकेता गर्दा पनि अटेरी र लापरबाही गरेको भन्दै ठेक्का सम्झौता रद्द गरिएको जनाएको छ।
तीनवटै सडकको स्तरोन्नति तथा नाला निर्माणको जिम्मा साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि, शम्भुनाथले पाएको थियो। तर निर्माण कार्य लामो समयसम्म अलपत्र पारिँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको थियो। सडकको दयनीय अवस्थाको विरोधमा स्थानीयले पटक–पटक सडक अवरुद्ध गर्दै चक्काजामसमेत गरेका थिए।
सार्वजनिक खरिद ऐन, २०६३ (संशोधनसहित) को दफा ५९ (२) को खण्ड (क), दफा ५९ (७) र दफा ५९ (८) अनुसार तथा डिभिजन कार्यालयको २०८३ जेठ ७ गतेको निर्णयका आधारमा ठेक्का सम्झौता अन्त्य गरिएको जनाइएको छ।
ठेक्का रद्द भएसँगै सडक निर्माण कार्य तत्कालका लागि अलपत्र परेको भए पनि यस कदमले ढिलासुस्ती गर्ने ठेकेदारहरूलाई सचेत बनाउने विश्वास गरिएको छ।
राजविराज नगरपालिकाका पूर्वनगरप्रमुख शैलेश चौधरीले ठेक्का रद्द गर्ने निर्णय सकारात्मक भएको बताउँदै अब अधुरो सडक निर्माणको प्रक्रिया छिट्टै अगाडि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
