२०८३ भाद्र २८ गते आइतवार

images

सौर्य आँधीका कारण पृथ्वीमा विद्युत् आपूर्ति र उपकरण प्रभावित हुने डर

सौर्य आँधीका कारण पृथ्वीमा विद्युत् आपूर्ति र उपकरण प्रभावित हुने डर

सहर्ष न्युज
शुक्रवार, जेठ १० २०८२
सहर्ष न्युज
शुक्रवार, जेठ १० २०८२
  • काठमाडौं । सूर्यबाट यो वर्षको सबैभन्दा ठूलो 'सोलर फ्लेअर' अर्थात् सौर्य ज्वाला निस्किएको देखिएको र त्यसको तस्बिर नासाको 'सोलर डाइन्यामिक्स अब्जर्भेटरी'ले खिचेको अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले बताएको छ।

    वैज्ञानिकहरूका अनुसार सूर्यबाट त्यसरी ज्वाला निस्किने क्रम बढेको छ। त्यस्तो "उच्च सक्रियता" देखिँदा सूर्यबाट 'चार्ज'युक्त कणहरूको निरन्तर प्रवाह हुन्छ र त्यो पृथ्वीसम्म आइपुग्छ।

    त्यसलाई 'सौर्य आँधी' भनिन्छ।

    त्यसले पृथ्वीमा प्रयोग हुने प्रविधिलाई हानि पुर्‍याउन सक्छ, कहिलेकाहीँ विद्युत् आपूर्ति नै अवरुद्ध गरिदिन सक्छ।

    अन्तरिक्षमा भएका यात्रीहरूमाथि दुष्प्रभाव पर्न सक्छ तर पृथ्वीमा भएका मानिसलाई हानि पुग्दैन।

    सौर्य ज्वाला के हो

    सौर्य आँधी सूर्यको चक्रको स्वाभाविक घटनाक्रम हो। 'सोलर फ्लेअर' र 'कोरोनल मास इजेक्शन' (सीएमई) का रूपमा ठूलाठूला विस्फोट हुँदा अन्तरिक्षमा प्रकाश, ऊर्जा र सौर्य पदार्थहरू हुत्तिएर निस्किन्छन्।

    सोलर फ्लेअर अर्थात् सौर्य ज्वाला सूर्यबाट प्रकाशको गतिमा आउने 'इलेक्ट्रोम्याग्नेटिक रेडिएशन' अर्थात् विद्युत्-चुम्बकीय विकिरण हो। त्यो विकिरणलाई पृथ्वीसम्म आइपुग्न केवल आठ मिनेट लाग्छ।

    सोलर फ्लेअरहरू प्रायजसो सीएमईहरूसँग निस्किन्छन्। चार्जयुक्त ऊर्जाको ठूलो लप्का भए पनि सीएमई प्रकाशजति गतिवान् हुँदैन।

    सौर्य आँधीहरू पृथ्वीसम्म आइपुग्दा तिनको शक्तिमा भिन्नता आइसकेको हुन सक्छ।

    सूर्यबाट आएको ऊर्जाका कारण 'ओरोरा' भनिने रङ्गीन र चम्किलो आकाश देखा पर्न सक्छ। 'ओरोरा'लाई 'सदर्न लाइट्स' वा 'नोर्दर्न लाइट्स' भनेर पनि चिनिन्छ।

    सौर्य आँधीका कारण पृथ्वीमा कस्तो प्रभाव पर्न सक्छ

    नासाका अनुसार सूर्यबाट निस्किने ज्वाला र विस्फोटन हुँदा निस्किने विकिरणले पृथ्वीमा विद्युत् प्रसारणका ग्रिड, हवाईजहाज र पानीजहाजमा जडित दिशा पहिल्याउन सघाउने संयन्त्रबाट उत्पन्न हुने सङ्केत र रेडिओ सञ्चारमा प्रभाव पार्न सक्छन्।

    सन् २०१७ मा सूर्यको सतहबाट निस्किएका दुइटा विशाल ज्वालाले पृथ्वीमा जीपीएस न्याभिगेशन प्रणालीजस्ता उपकरणहरूमा अवरोध सिर्जना गरिदिए।

    सन् २०११ को फेब्रुअरीमा निस्किएको एउटा शक्तिशाली सौर्य ज्वालाले चीनमा रेडिओ सञ्चारलाई खलबल्याइदिएको थियो।

    सन् १९८९ मा सौर्य फ्लेअरका कारण क्यानडाको क्युबेक प्रान्तमा नौ घण्टा विद्युत् आपूर्ति अवरोध हुँदा लाखौँ मानिस प्रभावित भएका थिए।

    सन् १८५९ मा सूर्यमा भएको ठूलो विस्फोटनले 'भूचुम्बकीय आँधी' उत्पन्न भएको थियो। त्यसले भिक्टोरिअन रेलमार्गका सङ्केतहरू र टेलिग्रामका लाइनहरूलाई खलबल्याइदिएको थियो।

    अहिले पनि त्यस्तो आँधीको खतरा छ। ल्यान्क्यास्टर यूनिभर्सिटीले गरेको एउटा अध्ययनले त्यस्तो आँधी उत्पन्न भएको खण्डमा यूकेको रेल सञ्जाल प्रभावित हुन सक्ने चेतावनी दिएको छ।

    सौर्य आँधी कतिको उत्पन्न हुन्छ

    सूर्य विद्युतीय चार्जयुक्त तातो ग्यासले बनेको हुन्छ। त्यो ग्यास चलायमान हुन्छ। विद्युतीय चार्जयुक्त ग्यास चल्दा शक्तिशाली चुम्बकीय क्षेत्र बन्छ।

    त्यो क्षेत्र एउटा चक्रमा चल्छ। त्यसलाई सौर्य चक्र भनिन्छ। फलतः सूर्यको सतह नियमित अवधिमा कहिले शान्त हुन्छ भने कहिले त्यसमा उग्र आँधी उत्पन्न गराउने गतिविधि हुन्छ।

    प्रत्येक ११ वर्षको सेरोफेरोमा सौर्य चक्र उत्कर्षमा पुग्दा सूर्यका उत्तरी र दक्षिणी ध्रुवमा भएको चुम्बकीय क्षेत्रले ठाउँ फेर्छ।

    नासा र यूएस न्याश्नल ओशनिक एन्ड एट्मस्फेरिक एड्मिनिस्ट्रेशन (एनओएए)ले मिलेर प्रायोजन गरेका विज्ञहरूको समूहले अहिलेको सौर्य चक्र डिसेम्बर २०१९ मा सुरु भएको बताएको छ। सो समूहले यसलाई 'सोलर साइकल २५' नामकरण गरेको छ।

    सौर्य चक्र सुरु हुँदा सूर्यको सतहमा न्यूनतम सङ्ख्यामा काला दागहरू हुन्छन्। वैज्ञानिकहरू त्यस्ता दागहरू हेरेर सूर्यमा हुने गतिविधिको निगरानी गर्छन्।

    सूर्यमा गतिविधि बढ्दा त्यस्ता दागहरूको सङ्ख्या पनि बढ्छ।

    सौर्य चक्रको मध्यबिन्दुलाई 'सोलर म्याक्सिम' भनिन्छ। त्यस बेला सूर्यमा हुने दागको सङ्ख्या अधिकतम हुन्छ र चुम्बकीय ध्रुवहरूले ठाउँ फेर्छन्।

    नासा र एनओओएका अनुसार सूर्य गत वर्ष विद्यमान चक्रको उत्कर्षमा पुगेको थियो।

    सूर्यका दागमा प्रकाश र ऊर्जाका ठूलाठूला विस्फोटन हुन्छन्। ती स्थानमा वरिपरिका अरू क्षेत्रमा भन्दा तापक्रम कम हुने भएकाले तिनलाई कालो देखिन्छ। अधिकांश त्यस्ता दागहरू पृथ्वीजत्रै वा पृथ्वीभन्दा ठूला हुन्छन्।

    एघार वर्षको अवधिमा सौर्य चक्र उत्कर्षमा हुँदा सौर्य आँधीहरू उत्पन्न हुने सम्भावना पनि अधिक हुन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend